श्रीपञ्चमी : अक्षरारम्भ गर्दै बालबालिकाहरु

प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

काठमाडौं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज श्रीपञ्चमी’ मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन्। बसन्त ऋतु सुरु भएसँगै यो पर्व आउने भएकाले आजको दिनलाई बसन्त पञ्चमी समेत भन्ने गरिन्छ ।

आजकै दिन स–साना बालबालिकाहरूलाई पहिलो अक्षर लेख्न सिकाइन्छ । आजका दिन शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वासअनुसार बालबालिकाहरु सरस्वती मन्दिर गई पूजा आराधना गरी मन्दिरको भित्तामा अक्षर कोर्ने गर्दछन् ।

विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्ने गर्दछन् ।

सरस्वती पूजाका अवसरमा आज बिहानैदेखि उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायतका सरस्वती मन्दिरमा पूजाआजा गर्ने विद्यार्थीहरुको घुइँचो लागेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट