राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थाल्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका हुन्।

प्रचण्डले निर्देशन दिँदै भने, ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला ।’

बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको काम कारवाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतको उपस्थित रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट