माग बढ्दै गएपछि अन्डाको मूल्य बढ्यो

प्रकाशित मिति: ३ पुष २०७९, आईतवार

चितवन । पछिल्लो समय बजारमा माग बढ्दै गएपछि अण्डाको मूल्य फेरि बढ्न थालेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।

सङ्घको बैठकले शनिबारबाट चितवनलाई आधार मानेर अण्डाको बजार मूल्य ३० गोटा (एक क्रेट) को रु. ३६० तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु. ३०० मा बिक्री हुँदै आएको थियो ।

सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु. ४३५ पर्न आउँछ । उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु. ३० हुँदा अण्डा प्रतिक्रेट रु. ३०० मा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु. ६५ पर्दा अण्डाको मूल्य उस्तै छ।’ औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाइ छ ।

एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु. ४०५ पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु. १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेल बताउँछन् ।

अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट