गुल्मीबाट गोकर्ण वि‍ष्ट विजयी, रामकुमारी झाँक्रीले दिइन् बधाई

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

काठमाडौं। नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी-२ बाट २८ हजार ४७६ मतका साथ जित हासिल गरेका एमाले उम्मेदवार विष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् ।

गठबन्धनको साथ पाएकी झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्। २ हजार ३४ मतको अग्रतासहित जित हात पारेका विष्ट गुल्मीबाट चौथो पटक निर्वाचित भएका हुन्। हाल एमाले सचिवसमेत रहेका विष्ट एमाले सरकारमा छँदा ऊर्जा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भइसकेका हुन्।

अन्तिम मत परिणाम सार्वजनिक भएपछि नेतृ झाँक्रीले विष्टलाई बधाई दिएकी छन्। बुधबार सामाजिक सञ्जालमार्फत विष्टलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिएकी झाँक्रीले गुल्मीको विकास र समृद्धिको यात्रामा साथ दिने बाचा पनि गरेकी छन्।

‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथमा रहनेछु’, उनले फेसबुकमा लेखेकी छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट