माओवादी घोषणापत्र : मोनो र मेट्रो रेल सञ्चालन गर्नेदेखि विदेशबाट भोट दिने व्यवस्था

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।

चुनावी घोषणापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ। उपत्यकाको बाग्मती, विष्णुमती, धोबीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने केन्द्रले बताएको हो। माओवादीको घोषणापत्रमा चक्रपथ वरिपरि र बूढानीलकण्ठ, सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरेको छ। २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै बाम गठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुई-दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको माओवादीको निष्कर्ष छ।

यस्तै माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने बाचा गरेको छ । सहरी विपन्न नागरिक, ज्येष्ठ नागरिक र असाहयका लागि सामुदायिक आवास निर्माण गरी आयस्तरको आधारमा निःशुल्कदेखि स:शुल्क आवासको व्यवस्था गरिने बाचा माओवादी घोषणापत्रमा गरिएको छ ।

यस बाहेक सहरमा रहेका निम्न–मध्यम र मध्यम वर्गका लागि भनेर सरकार र निजी क्षेत्रको लगानीमा सुपथ मूल्यमा अवास परियोजना सञ्चालन गर्ने माओवादी घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै हरेक स्थानीय तहमा डाक्टर र नर्स उत्पादन गर्न छात्रवृति दिने घोषणा गरेको माओवादी केन्द्रले डाक्टर वा नर्सको पढाइ सकिएपछि आफ्नै पालिकामा काम गर्ने सर्तमा यस्तो छात्रवृत्ति दिने उल्लेख गरेको छ ।

यसका साथै आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिबद्धता माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको घोषणापत्रमा लेखिएको छ, ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’ हरेक ५ वर्षमा हुने स्थानीय तहको अर्को निर्वाचन अब २०८४ मा हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट