बालेनलाई रामकुमारीको समर्थन, ‘काम गर्न खोज्दा म दलीय दबाबले रोकिएँ, तपाईँ अघि बढ्नुस्’

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

काठमाडौं । पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाएर भत्काउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमलाई समर्थन गरेकी छन्।

नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीले शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रहसहितको स्टाटस पोष्ट गर्दै महानगरभित्र नक्सापास बिना र अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने अभियानको समर्थन गरेकी हुन्। पूर्वमन्त्री झाँक्रीले मेयर शाहलाई आफूलाई जस्तो दलीय दबाब नहुने भएकाले काम गर्न सजिलो हुने बताएकी छन्। ‘मलाईजस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन ।’

आफू मन्त्री छँदा बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको उल्लेख गर्दै निर्वाचन आएको छ, यसैले नगरौं भन्ने दबाब आएकाले अभियान स्थगन गर्नु परेको पनि उनले बताएकी छन्। स्थानीय चुनावपछि २०७९ जेठ २ गते पुनः अतिक्रमित संरचना हटाउन सुरु गरिएकामा आफू मन्त्री पदबाटै बाहिरिनुपरेको गुनासो उनले गरेकी छन्।

झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको पनि स्मरण पनि गरेकी छन्। ‘मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं’, उनले भनेकी छन्, ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।’

अब यसपछि काठमाडौं उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने पालो आउने नेतृ झाँक्रीले बताएकी छन्। स्टाटसको अन्तिम बुँदामा झाँक्रीले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै आफ्नो पूर्ण साथ र समर्थन मेयर बालेनलाई रहने पनि बताएकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट