कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्नुस् : गगन थापा

प्रकाशित मिति: २१ श्रावण २०७९, शनिबार

भक्तपुर । कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

शनिबार भक्तपुरको बालकोटमा श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा बोल्दै नेता थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न र भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कांग्रेसका केन्द्रीय नेताहरु रमा कोइराला, जितजङ्ग बस्नेत, सुरेन्द्र केसी, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसङ्घीय सांसद लेखनाथ न्यौपाने, बाग्मती प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री रजनी जोन्छे, रामप्रसाद दवाडीलगायतले निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

यस्तै कांग्रेसका नेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेकोमा दुख व्यक्त गरे । उनले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘निर्वाचन आउँछ, जान्छ तर देश बदलिएन, जनस्तर पनि सुध्रिएन, त्यसैले अबको निर्वाचनपछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउँछौँ भन्ने सङ्कल्प गर्नु आवश्यक छ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट