काठमाडौंको फोहोर भोलिदेखि उठाइने

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

काठमाडैं । सिसडोलमा बाटो निर्माण गर्ने भन्दै गत साउन ४ गतेदेखि नउठाइएको काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि संकलन हुने भएको छ। एक साता फोहोर नउठाउने निर्णय गरेको महानगरले आज बुधबार सूचना जारी गर्दै भोलिदेखि संकलन गरिने जानकारी दिएको हो ।

‘महानगरपालिकाद्वारा साउन ४ मा जारी गरिएको सूचनाबमोजिम आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्था गरी सडक, चोक, गल्ली फोहोर हुनबाट रोकी सफा, स्वच्छ महानगर बनाउने कार्यमा अतलुनीय योगदान गर्नुभएकोमा महानगरवासीलाई हार्दिक धन्यवाद। भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारीसाधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ।’

गत साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै पत्र पठाएको थियो। पत्रका विषयमा छलफल गर्न महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको फोहोर व्यवस्थापन समितिको बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो।

महानगरले एक सातासम्म फोहोर नउठ्दा पनि फोहोर व्यवस्थापन गरिदिने महानगरवासीमा धन्यवादसमेत व्यक्त गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट