एन.एस.ए पौडी प्रतियोगिता आईतबार हुने

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार

काठमाडौं । नेपाल पौडी संघको वार्षिक कार्यक्रमअनुसारको १०औँ एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आईतबार हुने भएको छ । प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरेर कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्न जुनियर विधाका १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्षमुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।

मित्र राष्ट्र चिनमा आयोजना हुने १९औँ एशियन प्रतियोगिताका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट खेलाडीहरुले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरुको समेत छनोट हुने अध्यक्ष बज्राचार्यले बताए ।

यसै प्रतियोगितामा दक्षिण एशियाको सर्वोत्कृष्ट प्रतियोगिता दक्षिण एशियाली खेलकुदको काठमाडौंमा सम्पन्न १३औँ संस्करणमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त गर्दै ईतिहास रच्दै राष्ट्रको गौरव राख्न सफल खेलाडी गौरिका सिंहलाई नगद १ लाखसहित सम्मान गरिने छ।

यस्तै सो प्रतियोगितामा २ रजत र ३ कास्य प्राप्त गर्ने डुवाना लामालाई ५० हजार, ४ कास्य पदक प्राप्त गर्ने टिशा शाक्य र ३ कास्य पदक प्राप्त गर्ने अनुशिया तन्डुकारलाई नगद २५ हजारले सम्मान गरिने अध्यक्ष बज्राचार्यले बताए ।

तेश्रो नेपाल ईस्पोर्टस च्याम्पियनसिप सुरु
तेश्रो नेपाल ईस्पोर्टस च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले नेपाल ईस्पोर्टस संघको आयोजनमा तेश्रो संस्करणको फाईनल खेल हिजो बिहीबारबाट सुरु गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले च्याम्पियनसिपको उद्घाटन गरेका हुन् ।

च्याम्पियनसिप ईन्डोनेसियाको बालीमा आयोजना हुने १४औँ विश्व इस्पोर्टस च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ। च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट