अब १५ दिनमै जिल्लामा पासपोर्ट पुग्ने भएकाले काठमाडौं नआउन विभागको अनुरोध

प्रकाशित मिति: १९ असार २०७९, आईतवार

काठमाडौं । राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । विभागले आइतबार सूचना जारी गर्दै जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएकाले अब अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएकाले अब राहदानी बनाउन काठमाडौं नआउन विभागले अनुरोध गरेको हो। विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’

विभागले हाल दैनिकरुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जानकारी दिएको छ । सुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइ सकिएको विभागले जनाएको छ । विभागले प्रत्येक दिन २ हजार ४०० जनाले अनलाइनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको सूचनमा उल्लेख छ ।

सूचनामा सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउन अनुरोध गरिएको छ । प्रत्येक दिन बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिइरहेको विभागले सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीहरुलाई सेवा दिएको सूचनामा उल्लेख गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट