शेयर बजारको ओरालो यात्राले लगानीकर्ता निराश

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

काठमाडौं । बुधबारको कारोबारपछि नेप्से परिसूचक २२७५.६८ को विन्दुमा सिमित हुन पुगेको छ।

शेयरबजारमा दोहोरो अंकको गिरावट आएसँगै बुधबार कारोबार रकम पनि खुम्चिएको छ। आज कारोबार एक अर्ब २१ करोड रुपैयाँमा सिमित छ। सो बराबरका ३६ लाख अधिक कित्ता किनबेच भए। सर्वाधिक कारोबारमा अरुणभ्याली हाइड्रो अगाडि छ।

कम्पनीको ४ करोड ५८ लाख ९६ हजार रुपैयाँको उच्च कारोबार भएको हो। पछिल्लो लामो समय देखि कारोबारीहरुको आकर्षणमा अरुण भ्याली परिरहेको देखिन्छ। आज सबै उपसूचकहरु राताम्य छन्।

जाल्पा लघुवित्तका शेयरधनीले १० प्रतिशत आम्दानी गरे पनि अन्य लगानीकर्तालाई आजको कारोबारले निराश बनाएको छ। बुधबार ग्रिन भेन्चर्स लिमिटेडका शेयरधनीले १० प्रतिशत गुमाएका छन्। कम्पनीको मूल्यमा झन्डै नकारात्मक सर्किट लागेको छ। ग्रीन भेन्चर्सको प्रति कित्ता मूल्य ९.३६ प्रतिशत घटेको छ ।

बुधबारको गिरावटपछि परिसूचक एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको हो। गत साताको पहिलो कारोबारमै सतक लिन सफल परिसूचकले यसपश्चात भने निरन्तर ओरालो यात्रा तय गरिरहेको छ। सय अंक अधिकको फड्कोपछि वृद्धिमा ब्रेक लिने सेयर बजारको यो दोहोरिरहने प्रवृत्ति हो।

सय अंकको छलाङपछि २४४४.५५ को विन्दुसम्म उक्लिएको परिसूचक सोपछिका प्रत्येक कारोबारमा फराकिलो अंकले घटिरहेको छ। गत साताको सोमबार उपरान्त घट्ने क्रमको सुरुवात लिएको नेप्से परिसूचकले चालु साताको बुधबारसम्म करिब १७० अंक गुमाईसकेको छ।

परिसूचक ३२०० पछिको न्युनतम विन्दु २२६० नजिक पुगेको छ। आजको कारोबारपछि नेप्से २२७५.६८ को विन्दुमा ऒर्लियो। पुन केहि कारोबार दिन घट्दो क्रमलाई निरन्तरता दिने हो भने परिसूचकले ३२०० यता कै न्युनतम विन्दु कायम गर्नेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट