लेज, कुरकुरे, मदिरा, गाडी, फोनलगायतका वस्तु आयातमा रोक

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

काठमाडौं । सरकारले कुरकुरे, लेज, सबै प्रकारका तयारी मदिरा, निजी सवारीसाधनदेखि मोटरसाइकल, मोबाइल फोन, टेलिभिजनलगायतका सामान आयात गर्न रोक लगाएको छ ।

देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको छ । सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई उक्त सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।

मंगलबार जारी सूचनाअनुसार अब असारसम्म कुरकुरे, लेज जस्ता स्न्याक्स खानेकुरा आयात गर्न पाइँदैन भने कुनै पनि प्रकारका तयारी मदिरा नेपाल ल्याउन पाइने छैन। साथै चुरोट तथा सुर्तीजन्य वस्तु (कच्च पदार्थ बाहेक) को आयात पनि बन्द गराइएको छ।

सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका कलर टेलिभिजन, २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासको आयातमा बन्देज लगाएको छ। साथै जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहनबाहेक) आयात पनि रोकेको छ।

सरकारले सुनचाँदी, हिरा जस्ता वस्तुको आयातलाई भने रोकेको छैन। प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन्। यस्तै वैशाख १३ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने यो नियम लागू हुने छैन।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट