बैकिङ क्षेत्रमा तरलताको चाप छ, केही समय धैर्य गरौँ : कामु गभर्नर ढुङ्गाना

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले अहिलेको अवस्थामा सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।

काठमाडौंमा सोमबार भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन्।

तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको दाबी गरेकी कामु ढुंगानाले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन्। अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित्त संस्थाहरुमा पनि तरलताको चाप परेको भन्दै उनले ब्याजदरको समेत समस्या रहेको बताइन्छ ।

‘ब्याजदरको समेत समस्या छ। अहिले लुघुवित्तले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको छ। सधैँभरि सहज परिस्थिति हुँदैन। व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ। निश्चिय नै स्थिति सुधार हुन्छ’, उनले भनिन्।

कामु गभर्नर ढुंगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिबीको रेखामुनि रहेको बताइन् । उनले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट