नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

काठमाडौं । एसियलन डेभलपमेन्ट बैंक एडीबीले सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । नेपाल सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको भए पनि सो वृद्धि नहुने एडीबीको प्रक्षेपण छ ।

यद्यपि सरकारको दोस्रो प्रक्षेपण भने सार्वजनिक भइसकेको छैन । तर, अर्थमन्त्री जनार्दन शर्माले भने तोकिएको लक्ष्य प्राप्त नहुने यसअघि नै स्वीकार गरिसकेका छन् । चालु आर्थिक वर्षको अर्ध वार्षिक समीक्षा मार्फत आधा समय बितिसक्दा पनि विकास बजेट उत्साहप्रद रुपमा खर्च नभएपछि सरकारले बजेटको आकार समेत घटाएको थियो ।

युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले उल्लेख गरेको छ । जसका कारण नेपालको भुक्तानी सन्तुलन र विदेशी मुद्रा संचितिमा थप दबाब पर्ने समेत एडीबीले जनाएको छ ।

सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभाव समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा गरिएको छ । दक्षिण एसियाली भेगमा श्रीलंका र नेपालको आर्थिक वृद्धिदर कमजोर रहने भएको छ । पुछारमा रहेको श्रीलंकाले २.४ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त गर्नेछ । सबैभन्दा धेरै माल्दिभ्सले ११ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ । भारतले ७.५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने एडीबीले जनाएको छ ।

अघिल्लो वर्षायाममा परेको प्रचुर वर्षातका कारण धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो । तर, अक्टोवर मध्यमा परेको बैमासमी वर्षा र बाढीले बालीमा क्षति पुर्‍याएको थियो । यसले धानको उत्पादनमा समेत ९ प्रतिशतले कमी ल्याएको एडीबीले उल्लेख गरेको छ ।

उपभोक्ता र लगानीकामो मागमा आधारमा यो वर्ष उद्योगको वृद्धि भने ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान एडीबीको छ ।

यस्तै आर्थिक वर्ष ०७६/०७७ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको थियो । यसैगरी नेपालको मुद्रास्फिति चालु आर्थिक वर्ष ६.५ प्रतिशतको सीमाभित्रै रहने छ । सन २०२० मा ६.२ प्रतिशत रहेको मुद्रास्फिति गत आर्थिक वर्ष ३.६ प्रतिशतमा खुम्चिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट