लता मंगेशकरको निधनले संगीत जगत शोकमा

३६ भाषामा गाएकी थिइन् ३० हजारभन्दा बढी गीत

प्रकाशित मिति: २३ माघ २०७८, आईतवार

काठमाडौं । ‘स्वर कोकिला’ उपनामले चिनिने भारतकी चर्चित गायिका लता मंगेशकरको आज निधन भएको छ ।

लता मंगेशकरको ९२ वर्षको उमेरमा आज बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर शहरमा जन्मिएकी लताले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।

पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट सङ्गीत सिक्न थालेकी लताले सन् १९४९ मा हिन्दी चलचित्र महलको ‘आएगा आनेवाला’ बोलको गीत गाएर सबैलाई चकित पारेकी थिइन् । हिन्दी चलचित्रमा यो नै उनको पहिलो गीत थियो जसले उनलाई फड्को मार्ने अवसर दियो।

पहिलो हिन्दी गीत चर्चित बनेपछि लता सधैँ व्यस्त रहन्थिन र केही भाग्यमानी सङ्गीतकारहरूले मात्रै उनलाई गीत गाउन लगाउने अवसर प्राप्त गर्थे । लताले अहिलेसम्म भिन्न पुस्ताका प्रख्यात बलिउड अभिनेतृहरूका लागि हजारौँ गीतहरूमा आवाज दिइसकेकी छन् । लताले भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।

लताको निधनले सिंगो बलिउड र संगीत जगत नै शोकमा डुबेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् । मोदीले ट्वीट गर्दै मङ्गेशकरका गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने बताउँदै उनले दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियालेकी बताएका छन्।

यसैबीच लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको हो ।

राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट