तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो : आयल निगम

प्रकाशित मिति: ४ माघ २०७८, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।

आफ्नो सञ्चित मुनाफा रित्तिएको भन्दै निगमले विज्ञप्ति जारी गर्दै तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेअनुसार नेपालमा मूल्य समायोजना नगर्दा निरन्तर घाटा भएको हुँदा अब थप पेट्रोलिय पदार्थ खरिद गर्न तत्काल २ अर्ब रुपैयाँ अभाव देखिएको निगमले उल्लेख गरेको छ।

आयोगका सहप्रवक्ता पुस्कर कार्कीले अब निगमसँग संचित बचत शून्यको अवस्थामा पुगेकोले ईण्डियन आयल कर्पोरेशनलाई २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब रू. २ अर्ब अपुग हुने स्थिति देखिएको बताएका छन् । कार्कीका अनुसार हाल निगमलाई पेट्रोलमा १३.१८ रुपैयाँ घाटा, डिजेलमा ८.८१ रुपैयाँ घाटा, मट्टितेलमा २०.५० नाफा, हवाई इन्धनमा १४.७३ रुपैयाँ औसत नाफा र एलपि ग्यासमा प्रति सिलिण्डर ६४६.१६ रुपैयाँ घाटा भइरहेको छ ।

अब, मूल्य समायोजन गर्दै जाँदा पनि मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको र देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक अन्तर्राष्ट्रिय बजारबाट नयाँ मूल्य प्राप्त गरे पनि निगमले भने जम्मा ३ पटक मात्र मूल्य समायोजन गरेको जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट