बेमौसमी वर्षाले किसानको धानमा क्षति

यसपटकको उत्पादन पाँच वर्षयताकै कम

प्रकाशित मिति: १९ पुष २०७८, सोमबार

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादन विगत पाँच वर्षयताकै कम भएको छ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको छ। चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएकोमा गएको आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा ४ लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको छ। गत आवको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादन ३१.४९ प्रतिशतले घटेको हो ।

यसैगरी लुम्बनी प्रदेशमा १८.३८, प्रदेश १ मा ०.९३, प्रदेश २ मा ५.२४, वागमती प्रदेशमा ०.३५ र कर्णालीमा ८.७६ प्रतिशतले धान उत्पादनमा कमी आएको छ। प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ।

गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्क्याउने बेलामा वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो ।

यसवर्षको बेमौसमी वर्षाले देशभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट