‘राता लम्बिया’ गीतकी चर्चित गायिका असीस कौर नेपाल आउँदै

दरबारमार्गमा हुनेछ कन्सर्ट

प्रकाशित मिति: १२ पुष २०७८, सोमबार

काठमाडौं । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको ‘क्लब प्लेटिनम’मा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाँहना पूरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए । ‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत कार्यक्रमले दिनेछ’ खानले भने ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेका हौं’। नेपालमा बलिउड सेलिब्रेटीको प्रस्तुति नभएको धेरै समय भएको समेत उनले सुनाए ।

कार्यक्रममा असीस कौरका साथै नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहने छ । कार्यक्रमका लागि कौर ७ जनवरीमा नेपाल आउने छन् । कन्सर्टको टिकट ई-सेवाबाट पनि प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

असीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो ।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छन् ।

केसरी फिल्मको ‘वे माही’, ड्राइभ फिल्मको ‘मखना’, सिम्बा फिल्मका दुई गीत ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, लभयात्री फिल्मको ‘आख लड जावे’, ‘छोगडा’ र कपुर्स एण्ड सन्स फिल्मको ‘बोल्ना’ गीतमा उनले आफ्नो स्वरको जादु पस्किसकेकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट