घट्दै छ विद्युत् चुहावट, चार महिनामा १४.३५ प्रतिशतमा झर्‍यो

प्रकाशित मिति: ११ पुष २०७८, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको जनाएको छ ।

नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।

पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत आवको कात्तिकमा प्रणालीबाट १७.१८ प्रतिशत चुहावट हुने गरेकोमा चालू आवको कात्तिकमा २.८३ प्रतिशत विन्दुले घटेर १४.३५ प्रतिशतमा झरेको छ। कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत र बाँकी प्रसारण तथा उत्पादनतर्फबाट हुने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए।

‘गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्नेलगायतका काम अभियानकै रुपमा चलाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रमण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौं।’

प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट