कार्यदलले भन्यो ‘अत्यावश्यक नपरी शेयर बिक्री नगरौं’

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार

काठमाडौं । शेयर बजार लगानीकर्ताका संघहरुको छाता समूह ‘पुँजी बजार सृदृढिकरण बृहत कार्यदलका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले अत्यावश्यक नपरी शेयर बिक्री नगर्न सबै लगानीकर्ताहरुमा आग्रह गरेका छन् ।

अध्यक्ष पौडेलले सोमबार प्रेस विज्ञप्ति नै निकालेर छोटो समयमा नै १२ खर्ब सम्पत्ति गुमिसकेको भन्दै सबै लगानीकर्ताहरुलाई संयमित भएर लगानी गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रतिकुल अवस्थामा लगानीकर्तालाई संयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी शेयर बिक्री नगर्न अपिल गर्दछौं।’ ४७ लाख डिम्याट खाताधारीबाट १२ खर्बको सम्पत्ति गुमेको भन्दै अहिलेको संकट समाधान गर्न ब्रोकरमार्फत मार्जिन ट्रेडिङ कारोबार पूर्ण रुपमा कार्यान्वयन नभएसम्म शेयर धितोमा लगानीको सीमा हटाउन आग्रह गरिएको छ ।

तीन वर्ष अघि बजार सुधारका लागि भन्दै सरकारले अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा पुँजी बजार अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले ५८ बुँदे सुझाव दिए पनि अधिकांश सुझावहरु अझै कार्यान्वयन नभएको लगानीकर्ताहरुको भनाइ छ । ५८ बुँदेमध्येका बाँकी कामहरु गर्न लगानीकर्ताले उच्च स्तरीय कार्यदल गठनका लागि समेत सरकासँग अनुरोध गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट