शान्ति प्रक्रिया र संविधान निर्माणका सारथी : रमेश लेखक

प्रकाशित मिति: २६ मंसिर २०७८, आईतवार

जतिबेला कांग्रेसका धेरै नेता माओवादी निकट देखिए, जतिबेला कांग्रेस र एमालेका दिग्गज कहलिएका नेता माओवादीका निकटतम बने र जतिबेला माओवादी रजगज बढेका बखत जिल्ला र केन्द्रका अवसरवादी चरित्रका नेताहरू त्यतातिर ढल्किदै थिए, त्यतिबेला कांग्रेसको साख जोगाउन बीपी, गणेशमान र किशुनजीका मार्गमा केवल शेरबहादुर देउवा अविचलित र अविच्चिन्न रुपमा अगाडि बढिरहे । शेरबहादुर देउवा राजाबाट समेत प्रताडित भएको अवस्थामा उनलाई कसैको साथ र भरोसा थियो भने केवल रमेश लेखकको । उनै रमेश लेखकले आफ्नो बौद्धिक चातुर्यता र राजनीतिक परिपक्वताबाट शेरबहादुर देउवाको राजनीतिक यात्रामा बलियो एवं मजबुत आधार तयार पार्ने दृढता तय गरे र अन्ततः लेखककै सक्रियतामा माओवादी विद्रोहीलाई शान्ति वार्तामा ल्याएर कांग्रेसले एकपटक पुनः ठूलो ऐतिहासिक सफलता प्राप्त गरेको थियो । त्यो सफलताका पछाडि गिरिजाप्रसाद र शेरबहादुरको तस्बिर प्रचारप्रसारमा आए पनि असलमा कर्म भने रमेश लेखकले गरेका थिए देउवा पक्षबाट ।

गिरिजाले कृष्णप्रसाद सिटौला, एमालेले प्रदिप ज्ञवाली र देउवाले रमेश लेखकलाई ठूलो अभिभारा सुम्पे । आतंकको ठूलो विरासत बोकेको माओवादिलाई शान्तिपूर्ण प्रक्रियामा ल्याई सहज अवतरण गराउनु अहिलेजस्तो सहज र सरल पक्कै थिएन तर, रमेश लेखकले ति सबै असहजता र अप्ठ्याराहरुलाई आफ्नो विवेक र बौद्धिक चातुर्यताले उच्चस्तरीय ढंगले समाधान गरी देश र दुनियाँलाई नयाँ सन्देश प्रवाह गर्नमा रमेश लेखकको महत्त्वपूर्ण योगदान रहेको बिर्सन सकिदैन ।

लेखकको यही विशिष्ट क्षमताबाट देउवा र स्वयं गिरिजाबाबु र विद्रोही पक्षका नेता प्रचण्ड, बाबुराम समेत प्रभावित बनेका थिए । रमेशको शान्ति प्रक्रिया र संविधान निर्माणमा देखिएको सक्रिय एवं प्राज्ञिक पहल र योगदान देशले चिरकालपर्यन्त सम्झि रहनेछ । आफू अगाडि उभिएर ठूलो फड्को मार्न सक्ने क्षमता हुदा हुदै पनि पार्टीका सम्मानित नेताहरूलाई सुरक्षित एवं सम्मानित श्रेणीमा आसीन गराइरहन र पार्टीको प्रजातान्त्रिक साख जोगाइरहन पनि रमेशले पटकपटक आफूलाई पछाडि खडा गरिरहे ।

पछिल्लो महाधिवेशनमै पनि कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुको तीव्र इच्छा रहँदा रहँदै पनि रमेश केवल सदस्यमै लडे र यसपटक पनि उनले पार्टी र नेताहरूलाई सम्मानका खातिर केन्द्रीय सदस्यको मात्रै उम्मेदवारी दिएका छन् । यद्यपि रमेश लेखकलाई देशभरका कांग्रेस प्रतिनिधिले महामन्त्री या उपसभापति पदमा लडेको र जितेको हेर्ने अभिलाषा बोकेका थिए तर, नेताहरुप्रतिको सम्मान र पार्टीको साख जोगाउन मात्रै उनले आफ्नो र समर्थकहरुको साथ हुदा पनि सदस्यमा मात्रै उठे ।

परिपक्व राजनीतिक संस्कार एवं पार्टीप्रतिको निष्ठा र इमानदारीको उत्कृष्ट दृष्टान्त बनेका रमेश लेखकलाई कांग्रेसका नेताकार्यकर्तादेखि आम नेपाली जनताले प्राज्ञिक नेताका रुपमा मात्रै होइन शान्ति प्रक्रिया र संविधान निर्माणका सारथीका रुपमा बुझ्दछन् । शान्तिप्रक्रिया र संविधान निर्माणका क्रममा आवरणमा विभिन्न दलका विभिन्न नेताहरू अगाडि देखिएका भए पनि अन्तर्यमा दस्तावेजीकरण र मार्गदर्शनको काममा रमेश लेखक नै अग्रसर रहेको यथार्थ कहिल्यै कसैबाट लुक्न सक्तैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट