पहिलो पटक होङ्शी सिमेन्टमा पुग्यो विद्युत

कुलमान आफैं पुगेर जोडे बिजुली

प्रकाशित मिति: २८ कार्तिक २०७८, आईतवार

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत् आपूर्ति दिएको हो । प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल,प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारणलाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।

प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो । होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योग विद्युत आपूर्ति दिइएको छ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा बर्दघाट-भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो। होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत् दिइएको प्राधिकरणले जनाएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ ।

११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत् आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ । विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट