ओरालो लागेको शेयर बजार मंगलबार ७० अंकले घट्यो

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलवार

काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक ७० अंकले घटेको छ। सोमबार ७३ अङ्कले घटेको नेप्से आज ७० दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६ सय १५ दशमलव ४० विन्दुमा झरेको हो ।

नेप्से घटे पनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१८ कम्पनीको ७५ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

आज एक करोड ३० लाख ३५ हजार कित्ता शेयर पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको १८ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बैंकले आज मात्रै लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

मंगलबार पनि १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.३७ अंक घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ४.७४ अंक घटेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

घटेको बजारमा यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन नेपाल हाइड्रो डेभलपर्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशत घटेको छ भने गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य १० प्रतिशतकै हाराहारीमा कारोबार भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट