इन्टरनेटको शुल्क महिनाको ३०० रुपैयाँसम्म बढ्ने

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय गरेका छन् ।

बुधबार बसेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान)को बैठकले प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका हुन् । आफ्ना पोलमा तार र स्विचबक्स झुण्डाउने धेरैजसो इन्टरनेट कम्पनीले भाडा तिर्न ढिलाइ गरेपछि प्राधिकरणले असोज १५ गतेसम्म भाडा नतिरे तार काट्न सुरु गर्ने चेतावनी दिएपछि इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढ्ने भएको हो ।

आईस्पानको बैठकले सहरी क्षेत्रमा हरेक ग्राहकसँग प्रति महिना १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँका दरले शुल्क बढाउने निर्णय गरेको हो । प्राधिकरणलाई पोल भाडा नबढाउन आग्रह गर्दा पनि प्राधिकरणले नमानेको भन्दै शुल्क बढाउने निर्णय गरिएको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।

यसअघि विद्युत् प्राधिकरणले एउटा पोल प्रयोग गरेबापत प्रतिमहिना २५० रुपैयाँ लिने गरेकोमा अहिले किलोमिटरका दरले शुल्क तोक्दा अहिले एउटा पोलको मासिक भाडा सात सय ५० रुपैयाँसम्म पर्न आउने भएकाले शुल्क बढाउनुको अर्को विकल्प नभएको पराजुलीले बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट