दूधको खपत कम हुँदा किसान मर्कामा

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहीबार

काठमाडौं । निषेधाज्ञाले होटल रेष्टुरेन्ट, स्कूललगायत दूध खपत हुने क्षेत्र बन्द रहेकाले दूधको माग घटेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

निषेधाज्ञाका कारण उपभोक्ताबाट माग कम आएकाले किसानले उत्पादन गरेको दूध खपत आधाले घटेको बोर्डले जनाएको छ । निषेधाज्ञाले दूध सङ्कलनमा समस्या भएकाले दूधको खपत कम हुँदा किसान मर्कामा परेका छन् ।

किसानले उत्पादन गरेको १७ प्रतिशत मात्रै दूध विभिन्न सहकारी, डेरी उद्योगसहित औपचारिक क्षेत्रबाट सङ्कलन भइ बिक्री वितरण हुने गरेको छ । बाँकी ७३ प्रतिशत किसान आफैँले प्रयोग गर्ने र होटल तथा रेष्टुरेन्टमा पुर्याउने गरेको सरकारको तथ्याङ्कले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मानिस तन्दुरुस्त हुन प्रतिव्यक्ति वर्षमा ९१ लिटर दूध खान सिफारिस गरे पनि नेपालमा प्रतिव्यक्ति ७८.५ लिटर मात्रै खाने गरेको पाइन्छ । दूध र दुग्धजन्य पदार्थले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि नागरिकले यसको प्रयोग कम गर्ने गरेका छन् ।

निषेधाज्ञा अगाडि दैनिक साढे आठ लाख लिटर दूध सङ्कलन भइ खपत हुने गरेकोमा अहिले चार लाखको हाराहारीमा मात्रै सङ्कलन र बिक्री हुने गरेको बोर्डले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट