‘ताउ-ते’ चक्रवातको प्रभावले देशभर बदली, भारतमा १८ जनाको मृत्यु

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावले मंगलबार देशभरको मौसम बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि विशेष गरि पश्चिम तथा उच्च हिमाली क्षेत्रमा अप्रत्यक्ष प्रभाव परेको छ । सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको हुने मौसमविदको अनुमान छ ।

बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुने छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १–२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

शक्तिशाली चक्रवात ताउ–ते उत्तर–उत्तरपश्चिम हुँदै सोमबार राति गुजरात पुगेर ठोक्किएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ।

चक्रवात प्रभावित भारतका मुम्बईलगायत विभिन्न स्थानमा सयौं रूख ढलेका छन्। विभिन्न सहर जलमग्न भएका छन्। अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट