हत्या गरिएको १७औँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी भागरथी भट्टको आज १७औँ दिनमा दाहसंस्कार गरिने भएको छ ।

बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथीको शवलाई उनका परिवारले बुझ्न मानेपछि आज दाहसंस्कार गर्न लागिएको हो । यसअघि, भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए । तर, शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन ।

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिलसामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने भागरथीका काका शिवराज भट्टले बताए । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।

गएको माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट