अण्डाको मूल्यमा गिरावट

प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार

चितवन । कुखुराको अण्डाको उत्पादन र खपत घटेसँगै मूल्यमा गिरावट आएको छ। कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो।

पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । सङ्घले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यम ३०० कायम गरेको छ। यसअघि ठूलो अण्डाको दर ३६० र मध्यम अण्डाको ३४० रुपैयाँ सम्म पुगेको थियो।

अण्डाको मूल्य घटेसँगै कृषक प्रभावित बनेका छन्। यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ। सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष छ महिना पाल्ने गरिन्छ। अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गर्दछन्।

अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न ११.५३ लागत लाग्ने भन्दै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए । उनका अनुसार अहिलेको दररेटमा बिक्री गर्दा झण्डै एक रुपैयाँ प्रतिवटा अण्डामा किसानले नोक्सान व्यहोर्नु परेको छ।

उपभोक्ताले भने सस्तो मूल्यमा अण्डा उपभोग पाएका छैनन्। उपभोक्ताले भने १५ रुपैयाँमा अण्डा खरिद गर्न बाध्य छन्। बिचौलियाले बढी नाफा खाएर उपभोक्तालाई महङ्गो मूल्यमा बिक्री गरिरहेको पोखरेलले बताए।

संघका उपाध्यक्षसमेत रहेका किसान किरण ओलीले घाटामा व्यवसाय गर्दा कुखुरा पाल्ने किसान निकै घटेको बताए। दुई हजार ७०० हाराहारी लेयर्स कुखुरा पाल्ने किसान रहेकामा यो सङ्ख्या घटेर एक हजार ७०० मा झरेको उनले बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट