स्वस्थानी व्रतकथा माघ १५ देखि

यस्तो छ शालीनदी मेलाको नयाँ नियम

प्रकाशित मिति: ११ माघ २०७७, आईतवार

काठमाडौं। यस वर्षको स्वस्थानी व्रतकथा माघ १५ गतेदेखि सुरु हुँदैछ । हिन्दू धर्मावलम्बीहरुले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गर्दछन् ।

पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेको कथाका रुपमा नेपाली समाजमा प्रचलित छ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ। कोभिड-१९ को महामारीका कारण माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको छ । यस वर्ष कोभिड-१९ को महामारीका कारण समितिले ५० जनाको सङ्ख्या तोकेको हो। व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ।

साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। मेला सञ्चालनमा भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउन समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको समितिले जनाएको छ।

गत वर्ष २२ लाख दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेका जनाउँदै समितिले यस वर्ष कोरोनाका कारण भक्तालुको सङ्ख्यामा कमि आउने बताएको छ। स्वस्थानीको व्रत अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट