चन्द्रागिरी हिल्सको आईपीओ शुक्रबार बाँडफाँट गरिने

प्रकाशित मिति: ८ माघ २०७७, बिहीबार

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले शुक्रबार आईपीओ बाँडफाँट गर्ने भएको छ। कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा मात्र सर्वसाधारणले दाबी गर्न पाउने छन्।

ग्लोबल आईएमई क्यापिटलले कम्पनीको शेयर बिक्री तथा निष्कासनको जिम्मा पाएको छ। शुक्रबार बाँडफाँट हुने कम्पनीको आईपीओ भरेकाहरुमध्ये १२ लाख ११ हजार ११५ जनाको मात्रै आवेदन स्वीकृत भएको र ४० हजारभन्दा धेरैको आवेदन रद्द भएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो । माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकी १० लाख ७१ हजार ५१५ जनाको हात खाली हुने देखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट