शक्तिशाली भूकम्पमा परी इन्डोनेसियामा ४२ जनाको मृत्यु

प्रकाशित मिति: ३ माघ २०७७, शनिबार

बीबीसी । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा परी अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियामा शुक्रबार बिहान एउटा सानो भूकम्प गएको र त्यसको केही समयपछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट ६ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ । स्थानीय समयानुसार मध्यरातपछि १ बजेतिर ७ सेकेन्डसम्म भूकम्पले हल्लाएको थियो ।

दुईवटा भूकम्प गएकाले अधिकारीहरूले शक्तिशाली परकम्प जान सक्ने र सुनामी आउन सक्ने चेतावनी दिएका छन् । भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् । भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२ जना मानिसको मृत्यु भएको र उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेसिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन । तर, हजारौं मानिसहरू घर छोडेर सुरक्षित स्थानमा गएका छन् । प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित इन्डोनेसिया उच्च भूकम्पीय क्षेत्रमा पर्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट