इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो आईपीओ खुल्यो, कति दिने आवेदन ?

प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजदेखि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली धितोपत्र बजारमा हालसम्मको सबैभन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुल्ला गरेको हो ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको हो । त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने सक्नेछन् ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने छ । बैंकको आईपीओमा छिटोमा माघ ६ सम्म आवेदन दिन सकिने र त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिने छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ । अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिव्र रुपले बढ्दैछ ।

त्यस अनुसार बैंकको आईपीओमा आवेदन गर्नेको १५ लाख पुग्ने सहजै अनुमान गर्न सकिन्छ । सबै आवेदकलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्यूनतम ५० कित्ता शेयर पर्ने देखिन्छ । तर, सबैले ५० कित्ताको लागि आवेदन नगर्न पनि सक्छन । त्यसैले न्यूनतम ५० देखि ७० कित्ता सम्मको लागि आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो । बैंकले गत आर्थिक वर्षमा ८४ करोड र यो आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोडभन्दा माथि खुद मुनाफा आर्जन गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट