वास्तुअनुसार घरको यी दिशामा फुल रोप्नु शुभदायक

प्रकाशित मिति: २९ पुष २०७७, बुधबार

‘आहा ! कति सुन्दर’ रंगीबिरंगी फूल देख्ने बित्तिकै तपाईं हामी सबैको मुखबाट स्वतस्फूर्त निस्किने शब्द हो यो । यो संसारमा सुन्दर फूल मन नपराउने मान्छेहरु सायदै बिरलै भेटिएलान् । त्यसै कारणले पनि होला मान्छेहरु रंगीचंगी फूल लगाएर घर सिंगार्ने गर्दछन् ।

फूल सौन्दर्यको अनुपम ,अप्रतिम रुप हो । प्राचीन वास्तुशास्त्र लगायत स्थापत्य कलामा वास्तुशास्त्रका साथै फूलको बारेमा विशिष्ट चर्चा गरिएको पाइन्छ । हामीले जानेर वा नजानेर घरमा जथाभावी जुनसुकै फूल रोप्ने गर्छौं । वास्तुशास्त्रले घरको तला, घडेरीको दिशा, घरवालाको राशी, घरमा लगाइएको रंगलगायतलाई आधार बनाएर फूल लगाउनुपर्ने बताउँदछ ।

मान्छेको जीवन र फूलको सम्बन्ध प्रगाढ छ । मान्छेको जीवनमा उतारचढाव आउने हुनाले आँशु र हाँसोले मिश्रित जीवन यापन गर्न बाध्य छ । आँशुमा डुबेर मान्छे जीवन यापन गर्न सक्दैन । हाँसोका लागि प्रकृतिक सौन्दर्यका विभिन्न तत्वलाई मानवीय प्रयोगको आधार बनाइन्छ । प्राचीन स्थापत्यक कला होस वा साहित्य, वेद वा आधुनिक सजावट विधि सबैले फूललाई आनन्दको आश्रय स्थलका रुपमा प्रयोग गर्छन् । घरको कतापट्टी, कुन तलामा कस्तो रङको फूलहरु लगाउदा कस्तो प्रभाव पर्न सक्छ र के कस्तो फूल लगाउनेबारे वास्तुशास्त्रका जानकारसँग विस्तृत जानकारी लिँदा राम्रो हुन जान्छ ।

पूर्व दिशा : घरको पूर्व दिशामा रातो फूल रोप्न राम्रो हुन्छ जसमा काँडा नहोस् । दूध (चोप) आउने खालका फूल लगाउने भए गमलामा नभएर घडेरीको छेउमा एकहात खाली भूभाग बाहिर छाडेर त्यसभित्र रोप्नुपर्छ जहाँ बाह्रमासे, सुनखरी, लाहुरे फूल लगाउन सकिन्छ । पूर्वतर्फ गमलामा गुलाफ रोप्नु त्यति राम्रो मानिदैन । यो ठाउँमा रातो र सेतो मिश्रित भएर फुल्ने केवरा, पहेँलो रातो र निलो मिश्रित भएर फुल्ने सूर्यमुखी लगायत फूल रोप्न सकिन्छ । यो दिशामा रातो गोदावरी पनि उपयुक्त मानिन्छ । आग्नेय कोणमा रातो गुलाव रोप्न उत्तम हुन्छ ।

पश्चिम दिशा : पश्चिम दिशादेखि वायव्य कोण पर्यन्त सेतो रङ भएका पराग हुने सुगन्धित बाह्रमासे फुल्ने उचाई ५ फिटसम्म हुने फूल रोप्न सकिन्छ । यसमा चमेली, घण्टीफूल, बाबरी, रातो केबरा, केराफूल, धूपी, मेथी, हलेदो, सयपत्री, सर्पगन्धा, लूँडे, चिरैतो, छत्तिवन, जटामसी, जेठीमधु, टिमुर, तितेपाती, द्रोणपुष्पी, कुश, उसिर, अश्वगन्धा लगायत फूल तथा वनस्पती लगायत रोप्न सकिन्छ । यो दिशामा पारिजात, सेतो शिरिष रोप्न बाञ्छनीय नै हुन्छ । त्यसैगरी मालती, बेली, सुनगाभाजस्ता फूलहरु पनि रोप्न सकिन्छ ।

उत्तर दिशा : यो दिशामा सामन्यतया २ फिटजति उचाई हुने खालका फूलहरु लगाउनु राम्रो हुन्छ । अझ गमलामा रोप्ने भए उचाई जति कम भए पनि हुन्छ । रङ भने यो दिशामा कलेजी, खैरो वा सेतो, पहेँलो, गेरु रङ भएका फूलहरु लगाउनु उपयुक्त हुन्छ । उत्तर दिशामा पनि काँडा नभएका साना, हरियो, कलेजी, रातो सेतो, छिर्केमिर्के परेका फूलहरु रोप्न सकिन्छ । उत्तर दिशामै भुँइचम्पा, सुनाखरी, मखमली, गोदावरी, सोमलता, सयपत्री, बाकुची, वरुण, मोथे, चम्पाचमेली, कमल, सूर्यमुख, द्रोणपुष्पी, पारिजात, सुनाखरी, दूबो, तुलसी, तिल, जिरा, धनियाँ, बोझो, भृङ्गराज, भुइँअमला, लाहुरे फूल लगायत रोप्न सकिन्छ । ईशान कोणमा तुलसी वा अमला रोप्न उपयुक्त हुन्छ । यो कोणमा अग्ला बनस्पती रोप्नु हुँदैन । निद्रादोष निवारणका लागि स्वप्नकच्छु पनि रोप्न सकिन्छ । यो कोणमा धतुरो रोप्नाले जीवनका आइपर्ने यावत् समस्याहरु समाधान भएर जान्छन् ।

दक्षिण दिशा
दक्षिण दिशामा लहरा हुने र कालो वा निलो वा हरिया लहारादार तथा सामान्य काँडा हुने फूल रोप्नु राम्रो मानिन्छ । यो दिशामा निल, शिरिष, शृङ्गी, कुटुकी, खयर, गहत, काँस,गुलाफ, काकड, करेला र फूलको रुपमा प्रयोग हुँदै आएको धूपी, अशोक लगायत रुखहरु पनि लगाउन सकिन्छ । दक्षिणदेखि नैऋत्य कोणभित्र पर्ने गरी घरको करीव चार मिटर जति बाहिरतर्फ कपुर, रुद्राक्ष, अशोक, मरिच पनि लगाउन सकिन्छ । यो दिशामा सेतो फूल्ने सामन्यतया चार फिटजति उचाई हुने फूल रोप्दा उत्तम हुन्छ । यही दिशामा पहेँलो गोदावरी, सयपत्री, मखमली, भूइँचम्पा, चमेलीजस्ता फूल रोप्न सकिन्छ । एकतले घर भएमा यसरी लहरा नभएका फूलका विरुवाहरु रोप्न सकिन्छ । यदि घर एकतला नभएर अनेकौं तला भएको छ, जग्गा अभावले गमलामा नै फूल रोप्ने अवस्था आएमा भूइँतलामा बैजनी रङको, दोस्रो तलामा निलो रङको, तेस्रो तलामा रातो, चौथो तलामा सेतो सामान्य लहरा भएको फुल रोप्नु राम्रो मानिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट