कोरोनाको उच्च जोखिममा कालीमाटी तरकारी बजार

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार

काठमाडौं । व्यापारी र उपभोक्ता दुवैले कोरोना संक्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा कालीमाटी तरकारी बजारमा झन जोखिम बढेको छ।

यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाउँदा थप जोखिम बढेको हो। महामारीको समयमा पनि व्यापारी र उपभोक्तामा कत्ति पनि सावधानी नदेखिएको भन्दै कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले सचेत हुन आग्रह गरेका छन्।

यस्तै उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले खरिद र बिक्री बिललाई अनिवार्य गर्ने, त्यसका आधारमा मूल्यसूची टाँस्ने, मूल्यसूचीका आधारमा उपभोक्ताले खरिद गर्ने बानीको विकास गर्नुपर्ने बताउछन्। काठमाडौं महानगरको कृषि विभागको अगुवाइमा शुक्रबार बिहान अनुगमन गर्न पुगेको टोलीले आफ्नो नजिकको बजारमाभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको निष्कर्ष निकालेको छ।

अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको, ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो। कालीमाटी बजार विकास समितिले यही भदौ ७ गते विकास समितिले दुईपाङ्ग्रे सवारीसाधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदूरलाई समूहमा बस्न निरुत्साह गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो।

यो सूचनाको पालनामा पनि समस्या देखिएको छ। सूचनामा इजाजत प्राप्त व्यवसायीले दुई जनाभन्दा बढी बस्न नपाइने, बजार प्रवेश गरेपछि साबुन पानीले हात धुनुपर्ने, मास्कको प्रयोग गर्नुपर्ने, कृषिउपज लिएर आउने सवारीले बिहान ९ बजेदेखि राति ११ बजेसम्म मात्र प्रवेश गर्न पाउने, सामान जुन अवस्थामा आएको छ, त्यही अवस्थामा बिक्री गर्नेलगायत विषय उल्लेख गरिएको थियो। कोभिड महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि आयात घटेर मूल्य बढेको भन्दै महानगरमा गुनासो आएपछि कामपाले अनुगमन सुरु गरेको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट