किसानलाई तत्काल मल उपलब्ध गराउन कांग्रेसको माग

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार

काठमाडौं । कांग्रेसले रासायनिक मलको अभावमा किसानको खेतमा धान पहेलिन थाल्दा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट भएको बताएको छ ।

कांग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्ति जारी गर्दै मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। कोरोना महामारी, बाढीपहिरो र डुबानको समस्या झेलिरहेका किसान मल अभावले थप पीडामा परेको भन्दै कांग्रेसले तत्काल सुलभ रुपमा मल उपलब्ध गराउन माग गरेको छ ।

‘कृषकहरुको पीडाबोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउनका लागि सरकार समक्ष जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यसै गरी हिउँदे बालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका लागि सचेत गर्दछौं ।’

‘गरिब किसानहरुले दुःख, कष्टका साथ लगाएको धान बालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली बिग्रीने, उत्पादनमा ह्रास आउने र जसको कारण भविष्यमा भोकमरी सिर्जना हुने अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट