काठमाडौं आएका १६ जना कोरोना संक्रमित अझै सम्पर्कविहिन

प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार संक्रमण देखिएकामध्ये १६ जना कोरोना संक्रमित अझै सम्पर्कविहिन रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार बुधबार बेलुकासम्म भेटिएका १०२ संक्रमितमध्ये ५६ जना अस्पतालमा, २० जना होम आइसोलेसनमा र अन्य १० जना काठमाडौं आवजात गरिरहने हुँदा अहिले गाउँमै रहेका छन् भने बाँकी १६ जना सम्पर्कमा आएका छैनन् ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका १६ जनामध्ये केहीको उल्लेखित नम्बर नमिलेको, केहीको अझै पनि फोन नउठेको र कति जनाको मोबाइल अफ छ । काठमाडौं उपत्यकामा बुधबार साँझसम्म १०२ जनामा कोरोना संक्रमण देखिएको थियो । उपत्यकामा एकै दिन सय भन्दा धेरे व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो।

एकै पटक संक्रमितको संख्या बढ्दा अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएकामध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो भने उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखिएको थियो । उपत्यकामा बुधबार थपिएका १ सय २ जना संक्रमितमध्ये अधिकांश उपत्यका बाहिरबाट आएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट