बेसारको मजाक नउडाउन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति: ७ असार २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो भान्सामा प्रयोग गरिने बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरेका छन्।

सोमबार अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । शरीरको प्रतिरोधी क्षमता बढाउने बेसार, अदुवा, मेथीको कुरा गरेको भन्दै उनले भने, कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ ।’

प्रधानमन्त्री ओली नेपाल योगको जननी भएको बताए । ‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ’ उनले भने, ‘मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’ प्रधानमन्त्री ओलीले नेपालको उर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमा परेको कुरा अब स्वीकार्य नहुने भन्दै यसलाई अब बदल्नुपर्छ बदल्न सकिने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट