अत्येष्टि गरिएका व्यक्तिमा कोरोना पुष्टि, मृतकको संख्या ४ पुग्यो

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

बारा । नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारका क्रममा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

बाराका ७० वर्षीय वृद्ध सिकिस्त बिरामी परेपछि जेठ २ गते अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखिएका उनको जेठ ४ गते निधन भएको थियो।

अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट सोमबार आएको हो।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन । क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धको कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट