कोरोनाविरुद्ध बनेको खोपको पहिलो मानवीय परीक्षण सफल भएको दाबी

पुषसम्ममा खोप ल्याउने कम्पनीको प्रयास

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक अमेरिकी कम्पनी मोडर्नाले ठूलो सफलता हात पारेको दाबी गरेको छ ।

पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षणको नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले खोपले कोरोना भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने वा तयार पार्ने देखिएको जनाएको छ । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको प्रतिरोधात्मक प्रणालीले गर्ने प्रतिक्रिया र परीक्षणको क्रममा खोप दिइएका स्वस्थ व्यक्तिको प्रतिरोधात्मक क्षमताले गर्ने प्रतिक्रिया उस्तै रहेको पनि जनाइएको छ ।

कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ। खोपको मात्रा दिइएकाको शरीरमा एन्टिबडी बनेको कम्पनीले जनाएको छ । त्यो एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा त्यसले भाइरसको प्रतिरुप बन्नबाट रोक्न सक्षम देखिएको थियो । त्यसपछि कोरोना भाइरसको सङ्क्रमणबाट निको भएकाको एन्टिबडीसँग यो एन्टिबडी मिलाइएको थियो ।

कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ। दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ। अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ।

अबका दुई चरणमा गरिन लागेका परीक्षणहरु सफल भए भने मोडर्नाले कोरोना संक्रमण रोक्ने खोप यो वर्षको अन्त्य वा सन् २०२१ को जनवरीदेखि बजारमा ल्याउने विभिन्न समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट