अर्थमन्त्रीद्वारा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश

प्रकाशित मिति: २८ बैशाख २०७७, आईतवार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/७८ मा बजेटमा समावेश हुने प्राथमिकता तथा सिद्धान्तहरु संसदमा प्रस्तुत गरेका छन्।

अर्थमन्त्रीले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै कृषिलाई सुधार गर्ने नीतिसहितको बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश गरेका हुन् । नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै उनले कोरोना नियन्त्रणको लागि स्वास्थ्य सेवाको गुणस्तर तथा त्यसको पहुँच विस्तार गर्ने बताए।

आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका अर्थमन्त्री खतिवडाले आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने, कृषिलाई आधुनिकीकरण गर्ने, कोरोनाका कारण गुमेको रोजगारीलाई पुनःस्थापित गर्ने जस्ता प्राथामिकता आगामी वर्षको बजेटमा रहने जानकारी संसदलाई गराए।

उनले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे। भविष्यमा आउन सक्ने विपद्सँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारीरुपमा परिचालन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री खतिवडाले बताए।

मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन, समृद्धिको यात्रामा प्राप्त भएको उपलब्धि एवं नागरिकलाई गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने मन्त्री खतिवडाको जोड छ। आइतबार पेश भएको प्रस्तावमा सोमबार र मंगलबार छलफल हुने संसद सचिवालयले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट