सीमामा रोकिएका नेपालीलाई तत्काल नेपाल फर्काउन देउवाको आग्रह

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

काठमाडौं । भारतबाट नेपाल फर्कन लागेका सैयौं नेपालीले सीमामा रोकिएर नाराबाजी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

देउवाले आफ्नो देशमा आउनसमेत नारा जुलुस गर्नु परेको अवस्थाप्रति सरकारको जवाफ मागेका छन्। उनले ट्विट गर्दै सरकारलाई प्रश्न गरेका छन्, ‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो ?’

देउवाले दार्चुला सदरमुकामपारि भारतको धार्चुलामा रहेका नेपाल आउन नपाएकाहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन्। देउवाले नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । छिमेकी देश भारत पनि कोरोना भाइरसका कारण लकडाउन छ । लकडाउनका कारण त्यहाँका सार्वजनिक यातायात, हवाई र रेलमार्ग पनि बन्द छन्। लकडाउनका कारण भारतमा कार्यरत नेपालीहरु हिडेरै भए पनि नेपाली सीमामा आइपुगेका छन्।

खासगरी सुदूरपश्चिमका नेपालीहरु पैदलयात्रा गर्दै नेपाली सीमामा आइपुगेका छन्। सीमामा आइपुग्दा यहाँको सरकारले सीमानाका बन्द गरेपछि उनीहरुले आफ्नै देश छिर्न नाराबाजी गरेका हुन् । भारतको हिमान्चलको कुल्लू, सोइधारमा दैलेखको भैरवी गाउँपालिकाका १२० जना अड्किएका छन्। एकातिर काम छैन, अर्कातिर लकडाउन लम्बिन्छ भन्ने त्रासका कारण उनीहरु कैयौं दिन हिडेर नेपाली सिमा नाकामा भोकभोकै आएका छन्।

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय बढी नेपालीहरु सीमामा अलपत्र छन्। पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट