नयाँ सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ। माघ १२ गते हुने नयाँ सभामुखको चुनावका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समयावधि तोकिएको छ।

आज मनोनयन दर्ता गरिएपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने संसद् सचिवालयले जनाएको छ । नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवार चयनका लागि छलफल गर्दै छ।

सोमबार उपसभामु शिवमाया तुम्बाहाम्फेले समेत पदबाट राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया सुरु भएको हो। सभामुखपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि गत असोज १४ गते उनले पदबाट राजीनामा दिएका थिए। त्यस दिनदेखि सभामुख पद रिक्त रहँदै आएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट