वर्ल्डलिंकले साग हुने सबै रंगशालामा नि:शुल्क इन्टरनेट उपलब्ध गराउने

प्रकाशित मिति: १५ मंसिर २०७६, आईतवार

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट नि:शुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिबी डाटा निशुल्क प्रयोग गर्न पाउने छन् ।

वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ । काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् । यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् ।

मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वर्ल्डलिंकको नि:शुल्क वाइफाइ उपलब्ध हुनेछ । वर्ल्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो । वर्ल्डलिंकले नेपालका दुर्गममा समेत नि:शुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ ।

हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाइफाइ स्थानबाट नि:शुल्क इन्टरनेट चलाउँछन् । फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाइफाइ प्लेटफर्ममार्फत वर्ल्डलिंकले दुर्गममा नि:शुल्क वाइफाइ वितरण गरिरहेको छ । एकस्प्रेस वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट