यो वर्ष मखमली र सयपत्री फूलका माला महँगिए

प्रकाशित मिति: ९ कार्तिक २०७६, शनिबार

काठमाडौं । झिलिमिलीको पर्व मानिने नेपालीहरुको दोस्रो ठूलो चाँड तिहार हाम्रो घर आगँनमा आइसकेको छ । कागको पूजा गर्दै सबैको घरघरमा तिहारको रौनक छाएको छ।

तिहारकै लागि अहिले बजारमा विभिन्न किसिमका फूल तथा मालाको माग र बिक्री बढिरहेको छ । मानिसहरूले लक्ष्मी पूजाका दिन घरलाई सयपत्रीका मालाले श्रृंगार्छन्। घरका झ्याल ढोकामा चारैतिर माला नै माला लगाइएको हुन्छ। कुकुर तिहारदेखि भाइटीकासम्म फूल अपरिहार्य चीज हो। जसले गर्दा तिहारमा फूलको माग ह्वात्तै बढ्ने गर्दछ ।

बजारमा सबभन्दा बढी बिक्री हुने सयपत्री फूलको माला त्यसपछि मखमली नै हो। केही दिनयता राजधानीका असन, इन्द्रचोक, न्युरोड लगायतका क्षेत्रमा तिहारका लागि चाहिने सामान किन्नेको भीड बाक्लिँदै गएको छ। असन बजारमा सयपत्री फूलको माला ७० देखि ८० रुपैयाँमा र मखमली फूलको मालाको मूल्य ४० देखि ६० रुपैयाँ छ। गत वर्ष यस्तै माला ५० रुपैयाँमा पाइने भए पनि यो वर्ष मूल्य वृद्धि भएको व्यापारीहरू बताउँछन्।

फूलको माला जस्तै सयपत्री तथा मखमली फूलको गुच्छा पनि बजारमा पाइन्छ। यस्तो फूलको गुच्छाको मूल्य ५० रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन्। विशेषगरी लक्ष्मी पूजामा कमलको फूलले पूजा गर्ने चलन भएकोमा कमलको फूल प्रतिगोटा ५० रुपैयाँमा असन बजारमा बिक्री भइरहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट