यस वर्षको तिहारमा २५ लाख मालाको माग

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहीबार

काठमाडौं । यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्ने भएको छ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेकाले स्थानीय फूल फुलिरहेका छन्, ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाएका हुन् । गएको वर्ष तिहारमा १७ लाख माला खपत भएकोमा यस वर्ष बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ ।

बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले केही माला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको हो ।

तिहारमा मात्रै १५ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको छ । यस पटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको फ्लोरिकल्चर एसोसियशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा अहिले स्वदेशमै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले सात प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म बढी तिर्नुपर्ने देखिन्छ । गएको वर्ष ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको अध्यक्ष श्रेष्ठले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट