रिपोर्टर नेपाल समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० स्थित भोटसिपा बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ जना पुगेको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र सिपाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिकामा पर्ने भीमटार नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका-३ बस्ने केदारनाथ महाजु, पाचँखाल नगरपालिका-६ का संगिता मिजार, सिन्धपाल्चोकको इन्द्रावती गाउँपालिका-९ बस्ने हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती गाउँपालिका १० बस्ने रितेश आचार्य रहेका छन्।
यस्तै उपचारका लागि अस्पताल लैजाने क्रममा ललितपुर घर भएकी समिता श्रेष्ठको बाटोमै, मेलम्ची नगरपालिका-१३ बस्ने अनुष तामाङ र इन्द्रवती-९ का जुनादेवी लम्सालको उपचारका क्रममा धुलिखेल अस्पतालमा र इन्द्रावती-१० का मिना मगर, सुवास अधिकारी र अन्दाजी ६/७ वर्षका सनित पुर्कोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय सिन्धुपाल्चोकले जनाएको छ।
इन्द्रावती गाउँपालिका-९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बस सडकबाट २ सय मिटर तल खस्दा ११ जनाको मृत्यु भएको हो । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको र ओभरलोडका कारण गाडीको ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।