फेरि बढ्यो प्याजको भाउ, उपभोक्ता हैरान

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । चाँडपर्वको बेला प्याजको भाउ ह्वात्तै बढेको छ । भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै सोमबार प्याजको भाउ किलोमा ३० रुपैयाँ बढेको छ ।

नेपालमा धेरैजसो प्याज भारतबाट ल्याइने भएकाले भारतबाट निकासी रोकिँदा नेपालमा प्याजको कमी हुने र भाउ अझै बढ्न सक्ने कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताए ।

काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ । कालिमाटीमा दैनिक १२ देखि १३ ट्रक प्याज ल्याइने गरेको छ । केही दिन यता तरकारीसँगै प्याजको भाउ बढेपछि हैरान भएका उपभोक्तालाई चाँडपर्वको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट