सन्ध्या आरतीअघि राष्ट्रिय गान बजाउन रोक्ने संस्थालाई कारवाही गरिने

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

काठमाडौं । पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारवाही गरिने भएको छ ।

विगत दश वर्षदेखि आरती गर्दै आएको गंगा आरती परिवारले सोमबार साझँबाट आरती बन्द गरेको थियो। पशुपति क्षेत्र विकास कोषले आफूसँग कुनै सल्लाह नगरी पहिले दिएको निर्देशन विपरीत आरती रोकेको भन्दै कारवाही अघि बढाउन लागेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत निर्देशन दिएपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थालिएको थियो।

आर्यघाटमा मानिसहरू शोकमा भएका बेला राष्ट्रिय गान बजाउन निर्देशन दिएको भन्दै कतिपयले विरोध गरेका थिए। पशुपतिनाथ आर्यघाटमा २०६४ सालदेखि साँझपख आरती हुँदै आएको छ। सोही आरती सुरू गर्नु पहिले अनिवार्य राष्ट्रिय गान बजाउन मन्त्रालयले निर्देशन दिएपछि समर्थन र विरोधमा टिकाटिप्पणी हुँदै आएका छन्।

आर्यघाटमा आरती पहिले राष्ट्रिय गान बजाउने निर्णयप्रति प्रमुख कांग्रेसले पनि विरोध जनाएको छ। कांग्रेस सांसद् भीमसेनदान प्रधानले संसदमा बोल्दै आरतीमा राष्ट्रिय गान बजाउने निर्णय धर्म, संस्कृति तथा परम्परा विरोधी भएको प्रतिक्रिया दिएका छन्।

आरती सुरू हुनु पहिले राष्ट्रिय गान बजाउने निर्णयको सामाजिक सञ्जालमा पनि विरोध भएको छ। कोषका अनुसार अब सो संस्थालाई आरती सञ्चालन गर्न दिएको अनुमति रद्द गरिने कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट