कुलमान आएपछि प्राधिकरणले कमायो ७ अर्ब नाफा

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणले विद्युत चुहावटमा उल्लेख्य रुपमा कम गरेको दाबी गर्दै आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियान अन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए ।

२०७४/७४ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले साँवा, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैया जम्मा गरेको छ ।

आव ०७२/७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले पहिलो वर्ष प्राधिकरणलाई १ अर्ब ५० करोड, दोस्रो वर्ष २ अर्ब ९० र तेस्रो वर्ष ७ अर्ब २० करोड रुपैयाँ खुद नाफामा लगेका हुन् ।

हाल करिब ४५ लाख घरधुरीले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गरिरहेका छन् । विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट