बाढी र पहिरोमा परेर देशभर ११ जनाको मृत्यु

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर देशभर ११ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसोसम्मको अपडेटअनुसार काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्कँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ भने ललितपुरमा अविरल वर्षाका कारण एक जना, भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भयो भने पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० वर्षका निखिल पटेलको दाउरा संकलन गरिरहेका बेला बाढीले बगाएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको उपचारका क्रममा मृत्यु भएको छ । अविरल वर्षाका कारण खोटाङमा ३ जना बेपत्ता भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट